थुलुङ दुधकोशी गाउँपालिकाले पुस २५ गते देखि राष्ट्रपति रनिङ शिल्ड खेलकुदको गाउँपालिका स्तरीय छनौट प्रतियोगिता र अध्यक्षकप रनिङ शिल्ड प्रतियोगिता संचालन गर्ने भएको छ । पालिका अध्यक्ष असिम राईको अध्यक्षतामा शुक्रबार सम्पन्न कार्यपालिका बैठकले ४ वटा कार्यविधि समेत पारित गर्ने निर्णय गरेको हो ।
पालिका प्रवक्ता भोजराज कार्कीका अनुसार प्रतियोगिताको लागि गाउँपालिका उपाध्यक्ष सविता राईको संयोजकत्वमा मूल आयोजक समिति गठन गर्ने निर्णय उक्त बैठकले निर्णय गरेको छ । उक्त समितीमा सम्पूर्ण वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरु सदस्य रहने बताइएको छ ।
यस्तै, थुलुङ दुधकोशी बहु-प्राविधिक शिक्षालय संचालन कार्यविधि, २०८०, एम्बुलेन्स संचालन निर्देशिका, २०८०, लैंगिक समानता तथा सामाजिक समावेशीकरण नीति, २०८० र कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार (निवारण) आचार संहिता, २०८० पनि पारित गरेको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।
यस्तै पुस १ गतेबाट गाउँपालिका र प्रत्येक वडाले राजस्व संकलन गर्नको लागि स्थानीय संचित कोष व्यस्थापन प्रणाली (SuTRA) लागू गर्ने र हालसम्म संकलित राजस्वको तथ्यांकलाई पनि SuTRA प्रणालीमा अपडेट गर्ने निर्णय गरेको बताइएको छ ।