सोलुखुम्बु ः जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका मुक्लीमा स्थीत ऐतिहासिक ओगानेम (दरबार) क्षेत्रको अध्ययन अनुशन्धान सुरु भएको छ । गाउँपालिकाको वडा नम्बर ६ मुक्लीमा रहेको उक्त ऐतिहासिक ओगानेम दरबार क्षेत्रको आधिकारीक रुपमा अध्ययन सुरु भएको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।
गाउँपालिकाको सभाहलमा सोमबार एक कार्यक्रमका बीच उक्त दरबार क्षेत्रको अध्ययन अनुशन्धान तथा पर्यटन विकास विषयक अन्तरक्रिया समेत सम्पन्न भएको छ । पालिका अध्यक्ष असिम राईको अध्यक्षतामा भएको कार्यक्रममा संस्कृत विद् तथा राष्ट्रिय नाच घरका अध्यक्ष डा. चन्द्र हतुवाली र पर्यटन विद् तथा लुम्बिनी विकास समितिका सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राईले सहजिकरण गर्नुभएको थियो ।
थुलुङहरुको उद्गम थलोको रुपमा लिइने मुक्लीमा ऐतिहासिक ओगानेम दरबारको भग्नावशेष रहेपनि यसको वृस्तित अध्ययन नहुँदा ओझेलमा परेको स्थानीय अगुवा जगत बहादुर राईले बताउँनुभयो ।
खनजोत गर्ने क्रममा दरबार निर्माणमा प्रयोग भएका ढुंगा तथा केही महत्वपुर्ण भग्नावशेष फेला परेपनि यसबारे अध्ययन नभएको अर्का स्थानीयवासी अगुवा तथा पुर्व शिक्षक धनकुमार राईले बताउँनुभयो । “हामीले नै दरबारको गाह्रो देखेका हौँ, खनजोत गर्दा कुदिएका ठूला ठूला ढुंगाहरु भेटियो, अन्य सामाग्री समेत पाइन्थ्यो ।” अगुवा तथा पुर्व शिक्षक धनकुमार राईले भन्नुभयो, “रामलीहाङ राजा र ओगानेम दरबारको बारेमा धेरै सुनेको भएपनि आधिकारीक अध्ययन थिएन अब सुरु भयो हामी सबै एक भएर लागौँ ।”
समाज सेवी, पुर्व शिक्षक तथा थुलुङ अगुवा धन्दीराम राईले दरबार क्षेत्र र त्यस आसपासको जग्गाको अवस्था हेर्दा र पुर्खाको कुराहरु सुन्दा मिल्दोजुल्दो पाइएको बताउँनुभयो । उहाँले भन्नुभयो, “त्यो बेलाका सेनाहरुले परेट खेल्ने लगायतको ठाउँहरु देखिएको भएपनि पछिल्लो सयम यसको संरक्षण अभावमा नष्ट हुँदै गयो ।”
थुलुङ राई संस्कृति प्रतिष्ठानका अध्यक्ष निर्कुधन राईले विभिन्न शब्दाबली देखि अन्य धेरै क्षेत्रहरुमा अपभ्रंस हुँदै गएकाले अध्ययनको पाटोलाई फराकीलो बनाउनुपर्ने सुझाव दिनुभयो । ¥योम्ली हब नाम रहनुपर्ने भएपनि अपभ्रंस भएर रामलिहाङ भन्ने गरिएको उहाँको दावी छ ।
पाँचौँ शताब्दी सम्म रामलिहाङ राजाले सत्ता सञ्चालन गरेको भन्ने सुनेकोे थुलुङ अगुवा अचम्म सिं राईले बताउँनुभयो ।
यस्तै थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले लुम्बिनीमा बुद्धिष्ठहरु, पसुपतिक्षेत्रमा हिन्दुहरुको केन्द्र भएजस्तै थुलुङराईहरुको केन्द्र थुलुङ दुधकोशीको मुक्ली हुने विश्वास व्यक्त गर्नुभयो । ऐतिहासिक ओगानेम दरबार क्षेत्रको अध्ययनले इतिहासको दस्ताबेजीकरण संगै राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटक भित्र्याउन मद्दत गर्ने भन्दै अध्यक्ष राईले यसको विकासमा सबैको भूमिका सकारात्मक हुनुपर्नेमा जोड दिनुभयो ।
स्थानीय सरकारको अनुरोधमा पर्यटन मन्त्रालयको पहिलो नजर
यस अघिपनि ओगानेम दरबार सम्बन्धि केही अध्ययनहरु सार्वजनिक भएपनि सरकारी तवरबाट अध्ययन सुरु गरिएको यो पहिलो हो । थुलुङ दुधकोशी गाउँपालिकाले चालु आर्थिक वर्षमा रु.२० लाख बजेट नै व्यवस्था गरि यसको खोज तथा अनुशन्धान गर्ने कार्यक्रम निर्माण गरेको थियो ।
यस्तै गाउँपालिका अध्यक्ष असिम राईले स्थानीय सरकारसंगै संघीय सरकारको समेत ध्यानदृष्टि पुग्नुपर्ने भन्दै मन्त्रालयको ढोका ढक्ढक्याएको बताउँनुभयो । जसको फलस्वरुप यस वर्ष पर्यटन मन्त्रालयले रु.१० लाख बजेट व्यवस्था गरेर अध्ययन सुरु गरेको छ ।
पुरातत्व विभाग संगको सहकार्यमा मन्त्रालयले समेत काम सूरु गरिसकेको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो । एक टोलीले केही दिन अघि मात्रै स्थलगत अध्ययन गरेको उहाँको भनाई छ ।